- इन्सपेक्टर र जवानको हत्या 'अर्कै'बाट
दैलेख, आश्विन २५ - जिल्ला प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमराज भट्ट र जवान कमलप्रसाद शर्माको हत्या झन् 'रहस्यमय' बन्दै गएको छ । इन्सपेक्टरको हत्यापछि जवानले आत्महत्या गरेको नभई 'तेस्रो व्यक्ति'को संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
प्रहरी प्रधान कार्यालयद्धारा गठित छानविन टोलीका संयोजक एवं भेरी अञ्चल प्रहरी प्रमुख (एसएसपी) मधुप्रसाद पुडासैनीले हतियार, गोली, भी-सेराको फरेन्सिक परीक्षणपछि मात्र वास्तविकता पत्ता लाग्ने बताए । छानविन समितिका एक सदस्यका अनुसार जवानको हत्या प्रकृति हेर्दा आत्महत्या गरेको देखिन्न । गोली उनको पेट (नाइटो) बाट छिरेर तिघ्रा (मलद्वार नजिक) बाट निस्किएको छ ।
प्रहरी निरीक्षक भट्ट र जवान शर्मालाई विहीबार विहान सवा ५ बजेतिर क्वाटरमै गोली हानी हत्या गरिएको थियो । घटनालगत्तै सुरक्षा गार्ड कमल शर्माले इन्सपेक्टरको हत्यापछि आत्महत्या गरेको प्रहरीले अनुमान गरेको थियो । घटनालगत्तै प्रहरी प्रधान कार्यालयले एक साताभित्र प्रतिवेदन पेश गर्न एसएसपी मधुप्रसाद पुडासैनीको संयोजकत्वमा डिएसपीद्वय नरेशमान श्रेष्ठ र गुरुविष्णु काफ्ले सदस्य रहेको छानविन समिति गठन गरेको थियो ।
मृतक जवानका आफन्तले घटनालाई 'सुनियोजित' भन्दै छानविन नगरी निर्दोषलाई नै मुख्य दोषी बनाइएकोमा आक्रोश व्यक्त गरेका थिए । 'ऊ (कमल) आफै विभत्स तरिकाले मारिनुपरेको छ । उसैलाई हत्यारा साबित गरी हाकिमहरु पन्छिन खाजेको पाइयो,' कमलका नातेदार नारायण शर्माले भने, वास्तविक दोषीलाई उन्मुक्ति दिई मारिएकालाई फसाउने प्रतिवेदन मान्य हुँदैन ।' घटनालाई लिएर आक्रोशित आफन्त र प्रहरीबीच शुक्रबार जिल्ला अस्पतालस्थित पोष्टमार्टम स्थलमा धरपकड भएको थियो ।
एसएसपीले पुडासैनीले निष्पक्ष अनुसन्धान गर्ने आश्वासन दिएपछि मृतकका आफन्तले शव बुझ्न मानेका थिए । शव बुझ्नुअघि प्रहरीले शोक सलामी अर्पण गरी अन्तिम बिदाई गरेको थियो ।
Comments[ 0 ]
Post a Comment